
काठमाडौँ । दुग्ध विकास संस्थानमा कर्मचारीलाई लामो समयदेखि उपलब्ध गराउँदै आएको निःशुल्क दूध र घिउ सुविधा बन्द गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको निर्देशनपछि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
मन्त्रालयले संस्थान आर्थिक दबाबमा रहेको, दुग्ध किसानहरूले समयमै भुक्तानी नपाइरहेको तथा उत्पादन क्षेत्रसमेत चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै खर्च नियन्त्रणका लागि विशेष सुविधा रोकिएको जनाएको छ । मन्त्रालयका अनुसार संस्थानको स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न यस्तो निर्णय गरिएको हो ।
सरकारले उक्त सुविधा बन्द गरेपछि वार्षिक करिब २ करोड ८५ लाख रुपैयाँ बचत हुने अपेक्षा गरेको छ । बचत हुने रकम दुग्ध किसानको बक्यौता भुक्तानी, दुग्ध उत्पादन विस्तार तथा संस्थानको सुधार कार्यक्रमका लागि उपयोग गरिने जनाइएको छ ।
मन्त्री चौधरीले दुग्ध विकास संस्थान किसान र उपभोक्ताको हितका लागि स्थापना भएको संस्था भएकाले उपलब्ध स्रोतसाधनको प्रभावकारी र पारदर्शी उपयोग आवश्यक रहेको बताउनुभएको छ । उहाँले संस्थानलाई दीर्घकालीन रूपमा सक्षम र जिम्मेवार बनाउने दिशामा सुधारका कदमहरू अघि बढाइने पनि उल्लेख गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे