
काठमाडौँ । नबिल बैंक ले पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहकको गोपनीयता भंग भएको भन्ने दाबीलाई आधारहीन र प्रमाणविहीन भन्दै स्पष्ट खण्डन गरेको छ । बैंकले यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वासमा असर पार्ने उद्देश्य राखिएको देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकका अनुसार कान्तिपुर दैनिक मा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू” शीर्षकको समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त विवरण उल्लेख गरिएको भए पनि त्यसलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित दुष्प्रचार गरेको आरोप लगाइएको छ ।
जारी विज्ञप्तिमा बैंकले कुनै पनि ग्राहकको कारोबारसम्बन्धी सूचना ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा नियामक तथा अनुसन्धानकारी निकायले कानुनी प्रक्रिया अनुसार मागेको अवस्थामा बाहेक अन्य कसैलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ । बैंकले यस्तो सूचना कुनै सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई नदिएको र नदिने प्रतिबद्धता दोहोर्याएको छ ।
बैंकका अनुसार ग्राहकको विवरण सम्बन्धी सबै अभिलेख सुरक्षित प्रणालीमा राखिने र कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि विवरण निकालेको हो भन्ने सम्पूर्ण विवरण सुरक्षित रूपमा अभिलेखित हुने व्यवस्था रहेको छ । चार दशकभन्दा बढी समयदेखि विश्वसनीय सेवा दिँदै आएको उल्लेख गर्दै बैंकले ग्राहकको गोपनीयता संरक्षणमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे