
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका छन्। उक्त समितिले बोर्डको नयाँ अध्यक्ष सिफारिस गर्ने जिम्मेवारी पाएको छ।
बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि सरकारले यो प्रक्रिया अघि बढाएको हो। श्रेष्ठले नयाँ सरकारलाई सहयोग गर्ने उद्देश्यले पदत्याग गरेका थिए।
यसैबीच, मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। सरकारको यो निर्णयसँगै धितोपत्र बजार नियामक निकायमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे