
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै राजधानीका विभिन्न क्षेत्रहरूमा नियमित निरीक्षण अभियान सञ्चालन गरिरहेको छ। सोही क्रममा विभागले काठमाडौंको खिचापोखरी क्षेत्रमा एकैदिन ५३ वटा व्यवसायिक फर्म तथा पसलहरूको स्थलगत अनुगमन गरी आवश्यक विवरण संकलन गरेको जनाएको छ।
अनुगमनका क्रममा ती फर्महरूले उपभोक्तालाई बिलबिजक उपलब्ध गराएका छन् वा छैनन्, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखिएको छ वा छैन, तथा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमका प्रावधानहरू पालना गरिएको छ वा छैन भन्ने विषयमा सूक्ष्म रूपमा परीक्षण गरिएको विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार अनुगमन गरिएका सबै फर्महरूलाई सुधारात्मक निर्देशन दिइएको छ। बजारमा पारदर्शिता कायम गर्न र उपभोक्ताको अधिकार सुनिश्चित गर्न यस्तो अनुगमन अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागितामा सञ्चालन भइरहेको यो अभियानले बजारमा अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विभागले आगामी दिनमा पनि देशका विभिन्न क्षेत्रमा यस्ता अनुगमनलाई थप सशक्त बनाउँदै लैजाने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे