
काठमाडौं। विभिन्न सरकारी कार्यालयहरूमा गरिएको छड्के अनुगमनका क्रममा समयपालन र कार्यअनुशासनमा गम्भीर कमजोरी देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले ६३२ कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। सेवा प्रवाह बढी हुने कार्यालयहरूलाई लक्षित गरी गरिएको अनुगमनमा कार्यालय समयमा अनुपस्थित रहने तथा कार्यसम्पादनमा लापरबाही गर्ने कर्मचारीहरू पहिचान गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार पहिचान गरिएका कर्मचारीमाथि प्रचलित निजामती सेवा ऐनअनुसार प्रशासनिक कारबाही अघि बढाउन सिफारिस गरिएको हो। केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले सम्बन्धित कार्यालय प्रमुखमार्फत ती कर्मचारीलाई चेतावनी पत्र जारी गरिने व्यवस्था रहेको जानकारी दिए। उनले दुई पटकसम्म चेतावनी पाइसकेपछि थप विभागीय कारबाही हुने कानुनी प्रावधान रहेको स्पष्ट पारे।
अनुगमनका क्रममा विशेष गरी समयपालन नगर्ने, कार्यस्थलमा अनुपस्थित रहने र सेवा प्रवाहमा ढिलासुस्ती गर्ने कर्मचारीहरूलाई प्राथमिकतामा राखी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ। केही कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी पनि केन्द्रले दिएको छ।
केन्द्रले सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा नियमित छड्के अनुगमनलाई निरन्तरता दिएको छ। साथै प्रदेशस्तरमा समेत निगरानी विस्तार गर्दै प्रत्येक प्रदेशका एक–एक जिल्लामा विशेष अनुगमन अभियान सञ्चालन भइरहेको र आगामी दिनमा यस्तो निगरानी अझ तीव्र पारिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे