
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्दा समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राखेर विवेकपूर्ण निर्णय लिन सर्वसाधारण लगानीकर्तालाई सुझाव दिएको छ। विश्व वित्तीय सप्ताहको अवसर पारेर जारी गरिएको सन्देशमा बोर्डले धितोपत्र बजारमा प्रवेश गर्दा सूचनामूलक र सचेत ढंगले निर्णय गर्न आग्रह गरेको हो।
बोर्डका अनुसार सेयर बजारमा समय–समयमा उतारचढाव हुनु स्वाभाविक प्रक्रिया भएकाले लगानीकर्ताले विश्वसनीय स्रोतबाट तथ्यगत सूचना संकलन गरी मात्र निर्णय लिनुपर्छ। विशेषगरी नयाँ लगानीकर्तालाई प्राथमिक बजारबाट लगानी सुरु गर्न सुझाव दिँदै कम्पनीको आव्हान पत्र, विवरणपत्र, व्यवस्थापन क्षमता, वित्तीय अवस्था तथा मूल्याङ्कनसम्बन्धी पक्षको अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीको कार्यसम्पादन, लाभांश घोषणा, व्यवस्थापन परिवर्तन तथा भविष्यका योजनाबारे जानकारी लिन आवश्यक रहेको बोर्डले जनाएको छ।
सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना वा अनुमानका आधारमा लगानी नगर्न पनि बोर्डले चेतावनी दिएको छ। धैर्यता, अनुशासन र दीर्घकालीन सोचका साथ लगानी गर्दा जोखिम व्यवस्थापन गर्न सहज हुने बोर्डको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे