
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा तथा सहुलियतपूर्ण कर्जाको सदुपयोगिता मूल्याङ्कन गर्न गराएको आन्तरिक अध्ययन प्रतिवेदनले कार्यक्रमको प्रभावकारिता र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ। राष्ट्र बैङ्कले नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनअनुसार आ.ब २०८० ८१ मा कुल १ लाख ७२ हजार ६५४ ऋणीमध्ये ३१ हजार ६६४ ऋणीका फाइल तथा १ हजार ८३८ परियोजनाको स्थलगत निरीक्षण गरिएको थियो, जुन कुल ऋणीको १८ दशमलव ३४ प्रतिशत हो।
अध्ययनका क्रममा मूल्याङ्कन गरिएका कर्जामध्ये ७ प्रतिशत ऋणीले लिएको करिब ६ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा उद्देश्यअनुसार प्रयोग नभएको पाइएको छ। यसैगरी १२ प्रतिशत ऋणीको करिब १८ अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको कर्जामा लक्षित वर्गको स्पष्ट पहिचान नभएको उल्लेख गरिएको छ। ६ प्रतिशत ऋणीले करिब १० अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको दोहोरो कर्जा सुविधा उपयोग गरेको तथा ११ प्रतिशत ऋणीको करिब २१ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कर्जामा दुरुपयोगको आशंका देखिएको प्रतिवेदनमा उल्लेख छ।
व्यावसायिक कृषि तथा पशुपन्छी कर्जातर्फ ५ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएका १० हजार ९८१ ऋणीको नमुना परीक्षण गरिएको तथ्य पनि प्रतिवेदनमा समावेश छ। उक्त नमुना परीक्षणमा २५ दशमलव ६ प्रतिशत ऋणीले कर्जाको सदुपयोग नगरेको देखिएको छ। यस सन्दर्भमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई छानबिन तथा परीक्षण गरी विवरण पठाउन पत्राचार गरिएको भए पनि त्यसको कार्यान्वयन र परिणामको मूल्याङ्कन भएको नदेखिएको प्रतिवेदनले औंल्याएको छ।
यसले सहुलियतपूर्ण कर्जा कार्यक्रमको अनुगमन, उत्तरदायित्व र पारदर्शिता सुदृढ गर्न थप कडा व्यवस्था र नियमित मूल्याङ्कन आवश्यक रहेको संकेत गरेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे