
काठमाडौं – आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। मतदानअघिको ४८ घण्टादेखि लागू हुने गरी निर्वाचन आयोगले मौन अवधि घोषणा गरेको हो। यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता तथा अन्य सरोकारवाला सबै पक्षले कडाइका साथ पालना गर्नुपर्ने विशेष आचरण निर्धारण गरिएको छ।
आयोगका अनुसार मौन अवधिमा कुनै पनि तरिकाबाट मत माग्न निषेध गरिएको छ। निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि ध्वनि प्रणाली, सन्देश सेवा, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यम प्रयोग गर्न पाइँदैन। दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट सन्देश, सूचना वा प्रचार सामग्री प्रकाशन, पोस्ट वा साझेदारी गर्नसमेत रोक लगाइएको छ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने, जुलुस निकाल्ने, प्रदर्शन गर्ने वा होहल्ला तथा हुलहुज्जत गर्नसमेत निषेध गरिएको छ।
त्यसैगरी, मतदान कार्य सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता, मतदान केन्द्र वा मतदानमा संलग्न कर्मचारीलाई बाधा पुर्याउने कुनै पनि गतिविधि गर्न नहुने व्यवस्था छ। मतदान हुने दिनको ४८ घण्टा अगावै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ।
राजनीतिक दल, उम्मेदवार तथा तिनका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन र प्रचार सामग्री हटाउनुपर्ने आयोगको निर्देशन छ। मतदान केन्द्र रहेको स्थान र वरपर शान्ति कायम राखी भय, त्रास सिर्जना गर्ने वा निर्वाचन वातावरण बिथोल्ने कुनै पनि कार्य नगर्न आयोगले सबै पक्षलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे