
काठमाण्डौ। मूल्य अभिवृद्धि कर (भ्याट) नियमावली, २०५३ को नियम ४० ले करयोग्य तथा करछुट दुवै प्रकारका कारोबार गर्ने करदाताले समानुपातिक रूपमा कर कट्टी तथा कर क्रेडिट समायोजन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर आन्तरिक राजस्व कार्यालय, नयाँ बानेश्वरअन्तर्गतका एक करदाताले उक्त कानुनी प्रावधानको पूर्ण पालना नगरेको तथ्य उजागर गरेको छ।
उक्त करदाताले आर्थिक वर्ष २०७९/८० मा करयोग्य बिक्री तथा करछुट दुवै कारोबार देखाएको भए पनि समानुपातिक हिसाबले मूल्य अभिवृद्धि कर क्रेडिट समायोजन गरेको नदेखिएको उल्लेख छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमार्फत स्पष्ट पारेअनुसार नेपालमा प्रदान गरिने शैक्षिक परामर्श सेवा भ्याटयोग्य कारोबारभित्र पर्छ भने विदेशी विश्वविद्यालयबाट प्राप्त हुने कमिशन आय भने भ्याटयोग्य कारोबारमा पर्दैन।
करदाताको पछिल्ला पाँच आय वर्षको विवरणअनुसार करयोग्य बिक्री रु. २६ करोड ९ लाख १९ हजार र करछुट बिक्री रु. ५१ करोड ८१ लाख १९ हजार गरी कुल आय रु. ७७ करोड ९० लाख ३८ हजार कायम भएको देखिन्छ। यस्तो अवस्थामा नियम ४० अनुसार समानुपातिक गणनाबाट हुन आउने भ्याट क्रेडिट समायोजन गर्नुपर्नेमा सो नगर्दा रु. १ करोड २७ लाख ९ हजार बराबरको भ्याट जोखिम देखिएको छ।
उक्त रकमका सम्बन्धमा विस्तृत छानबिन गरी यकिन कर निर्धारण गर्न सिफारिस गरेको छ। यस घटनाले करयोग्य र करछुट कारोबारको स्पष्ट लेखा, प्रभावकारी अनुगमन र कानुनको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सन्देश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे