
काठमाडौँ । जाली नोट मुद्रण, ओसारपसार तथा कारोबार गर्नु गैरकानुनी कार्य भएको भन्दै नेपाल राष्ट्र बैंकले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। आर्थिक कारोबारका क्रममा कुनै पनि बैंकनोट शङ्कास्पद देखिएमा नजिकको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा बुझाई त्यस्तो नोट कहाँबाट प्राप्त भएको हो भन्ने जानकारी दिनुपर्ने बैंकले जनाएको छ।
बैंकनोट छाम्दा साधारण कागजजस्तो चिप्लो महसुस हुनु, रङ फिक्का देखिनु, सुरक्षण धागो रंगले पोतेको वा बाहिरबाट टाँसेको जस्तो लाग्नु, तथा उठ्नुपर्ने भागहरू समथर देखिएमा त्यसलाई ध्यानपूर्वक परीक्षण गर्नुपर्ने जनाइएको छ। नोट हेरेर, छामेर र ढल्काएर जाँच गर्दा यस्ता शङ्कास्पद संकेत देखिएमा थप सतर्कता अपनाउन राष्ट्र बैंकले सुझाएको छ।
रु एक हजार र रु पाँच सयका बैंकनोटमा पानीछाप, सुरक्षण धागो, उभिएको छाप, रङ परिवर्तन हुने चित्र तथा पराबैंगनी प्रकाशमा देखिने विशेष चिन्हहरू जाली नोट पहिचानका प्रमुख आधार भएको बैंकको भनाइ छ।
नेपाल राष्ट्र बैंकले सजग नागरिक बनेर सुरक्षित कारोबार गर्न सबैलाई आग्रह गर्दै जाली नोटसम्बन्धी कुनै पनि शङ्कामा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे