
काठमाडौँ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चारवटा अन्तर्राष्ट्रिय संस्था नेपालमा पर्यवेक्षण गर्नेछन्। निर्वाचन आयोगबाट अनुमति प्राप्त यी संस्थाहरू हुन् – द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ, म्यासाचुसेट्स।
द कार्टर सेन्टर एटलान्टा विश्वका ४० देशमा १२८ निर्वाचन पर्यवेक्षण गरिसकेको संस्था हो। नेपालमा यसले २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गरिसकेको छ। २०६७ मा मतदाता दर्ताको अवस्था अध्ययन गरेको यस संस्थाले मतदानदेखि मतगणना प्रक्रिया र वातावरणको निगरानी गर्नेछ।
एसियन नेटवर्क फर फ्रि इलेक्सन एशियामा स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन प्रवर्द्धन गर्ने क्षेत्रीय संस्था हो। यसको मुख्यालय बैंकक, थाइल्याण्डमा रहेको छ र २७ भन्दा बढी सदस्य संगठनसँग काम गर्दै आएको छ। नेपालमा यसले विगत निर्वाचनमा महिला/अल्पसंख्यकको सहभागिता र समावेशितालाई प्राथमिकता दिएको छ।
इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट अमेरिकी गैर–नाफामुखी संस्था हो, जसले ५० भन्दा बढी देशमा लोकतन्त्र र नागरिक सहभागिता प्रवर्द्धन गर्दै आएको छ। नेपालमा यसले प्रत्यक्ष निर्वाचन पर्यवेक्षण गर्ने पहिलो अवसर पाएको छ।
अन्तिममा द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स अमेरिकन दातृ संस्था हो, जसले नेपालमा यसअघि आपतकालीन राहत कार्यक्रम सञ्चालन गरेको थियो। यसपटक पनि यो संस्था निर्वाचन प्रक्रिया र वातावरणको निगरानी गर्नेछ।
चारै संस्थाले निर्वाचनको निष्पक्षता, पारदर्शिता र मतदाता सुरक्षामा विशेष ध्यान दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे