
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँस्थित कार्यालयमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनअनुसार पुस महिनामा बजार मूल्यमा समग्रमा सामान्य उतारचढाव देखिएको छ।
विभागले मूल्य अस्थिरताका प्रमुख कारणका रूपमा बिचौलियाको प्रभावलाई औंल्याउँदै उत्पादन मूल्य र उपभोक्ता मूल्यबीच ठूलो अन्तर देखिएको जनाएको छ। तरकारी, फलफूल तथा खाद्यान्नमा बिचौलियाका कारण मूल्य अस्थिर बनेको निष्कर्ष निकाल्दै सहकारी, सरकारी संस्थान, व्यापारिक सञ्जाल र साझेदारीका वैकल्पिक माध्यम विकास गर्नुपर्ने सुझाव दिइएको छ।
मूल्य नियन्त्रणका लागि उत्पादन वृद्धि, वितरण तह घटाउने, आपूर्ति व्यवस्थापन सुदृढ बनाउने तथा सिन्डिकेट र कार्टेलिङ अन्त्य गरी स्वच्छ प्रतिस्पर्धी बजार स्थापना गर्नुपर्ने विभागको सिफारिस छ। नियमित बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
खाद्यान्नतर्फ सोना मन्सुली चामलको मूल्य घटेको देखिए पनि वासमती चामलको मूल्य बढेको छ भने अन्य चामलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। दालको मूल्य केही बढेको छ भने गेडागुडीमा सामान्य परिवर्तन आएको छ।
तरकारी र मसलाजन्य वस्तुमा भने मूल्य अस्थिरता बढी देखिएको छ। अदुवा, गोलभेँडा, लसुन र सुकेको खुर्सानीमा ठूलो उतारचढाव आएको प्रतिवेदनमा उल्लेख छ। फलफूलतर्फ स्याउ र अनारको मूल्यमा असामान्य परिवर्तन देखिएको छ भने मासु, माछा र अण्डाको मूल्यमा सामान्यदेखि मध्यम उतारचढाव मात्र देखिएको छ। केही तरकारीमा भने मूल्य १०९ प्रतिशतदेखि १६० प्रतिशतसम्म बढेको अध्ययनले देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे