
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ६ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार मुनाफा, आम्दानी र वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिँदै बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेत गरेको छ।
चालु आवको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८० करोड ७३ लाख रुपैयाँको तुलनामा २५.२५ प्रतिशतले बढी हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि बढेर ८२ करोड ८ लाख रुपैयाँ पुगेको छ।
सम्भावित नोक्सानी व्यवस्थापनका लागि बैंकले यसपटक ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन छुट्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो। यद्यपि, कर्जा अपलेखन खर्चमा उल्लेखनीय कमी आएकाले कुल खर्च नियन्त्रणमा रहँदै नाफा वृद्धि सम्भव भएको देखिन्छ।
छ महिनाको अवधिमा बैंकले कर्जा प्रवाह १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप २८ अर्ब रुपैयाँले वृद्धि भई २ खर्ब ४ अर्ब रुपैयाँ नाघेको छ। निष्क्रिय कर्जाको अनुपात घटेर ४.२५ प्रतिशतमा सीमित हुनु पनि बैंकका लागि सकारात्मक संकेत हो।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी १६.७३ रुपैयाँ पुगेको छ। बैंकले चुनौतीपूर्ण परिस्थितिबाट उक्लिँदै सुधारोन्मुख वित्तीय प्रदर्शन कायम गर्ने प्रयास गरेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे