
काठमाडौँ– देशमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले केही प्रदेशमा बादल लाग्ने, हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ।
हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आकाश पूर्ण रूपमा बादलले ढाकिएको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। बागमतीका केही ठाउँ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का पानी परिरहेको छ। आज दिउँसो तराईका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम प्रायः सफा रहने अनुमान छ। यी प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र वर्षा हुन सक्छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। मौसमका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे