काठमाडौं – रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित सम्झौता हस्ताक्षर समारोहमार्फत् यस सहकार्यको घोषणा गरिएको हो। यस कार्यक्रमलाई संस्थाका लागि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापी करिअर अवसरतर्फ प्रेरित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। कार्यक्रमको औपचारिक सुरुवात रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनको काठमाडौं शाखाकी शाखा प्रबन्धक दिव्या महर्जन प्रधानको स्वागत मन्तव्यबाट भएको थियो। उनले अनुशासित, प्रेरणादायी र सफल खेलाडी आसिफ शेखसँगको सहकार्यले संस्थाको मूल्य, दृष्टिकोण र विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ मार्गदर्शन गर्ने उद्देश्यलाई थप बल पुग्ने बताइन्। रुट टु युनिकी बिजनेस डेभलपमेन्ट म्यानेजर प्रियंका खनालले कार्यक्रममा उपस्थित हुन नसकेका संस्थाका अध्यक्ष बसन्त नेपालद्वारा पठाइएको सन्देश वाचन गरेर सुनाएकी थिइन्। उक्त सन्देशमा अध्यक्ष नेपालले यस सहकार्यले हजारौँ विद्यार्थीलाई ठूलो सपना देख्न तथा मेहनतका साथ आफ्ना लक्ष्यहरू प्राप्तितर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। नवनियुक्त ब्रान्ड एम्बासडर आसिफ शेखले रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन परिवारको हिस्सा बन्न पाउँदा खुशी र गर्व लागेको बताए। उनले शिक्षा र खेल दुवै क्षेत्रमा अनुशासन, निरन्तर प्रयास र सही मार्गदर्शन अत्यन्त आवश्यक हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो क्षमता माथि विश्वास गर्न र अन्तर्राष्ट्रिय अवसरतर्फ अगाडि बढ्न प्रेरित गर्ने प्रतिबद्धता जनाए। समारोहमा यर्क सेन्ट जोन युनिभर्सिटी (वाईएसजियु), बेलायतका लागि नेपाल कन्ट्री कोअर्डिनेटर सुनिल तुलाधर, द स्किल फर नेपालका वरिष्ठ प्रशिक्षक अमर सिंह तथा युनिभर्सिटी अफ वुस्टर, बेलायतका एडमिसन एण्ड स्टुडेन्ट सपोर्ट अफिसर रोशन भट्टलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अन्य थुप्रै प्रतिष्ठित व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई थप सफल र अर्थपूर्ण बनाएको आयोजकले जनाएका छन्। औपचारिक मन्तव्यपछि रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन र आसिफ शेखबीच सम्झौता पत्रमा हस्ताक्षर तथा आदान–प्रदान गरिएको थियो। त्यसपछि समूह फोटो सेसन तथा सञ्चारकर्मीहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रमको समापन रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनका बिजनेस डेभलपमेन्ट डाइरेक्टर अर्जुन पौडेल (शर्मा) को धन्यवाद ज्ञापनसँगै गरिएको थियो। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, साझेदार संस्था, सञ्चारकर्मी तथा रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन समूहका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरे। सम्झौता हस्ताक्षर समारोह शिक्षा र प्रेरणाबीचको सहकार्यको प्रतीक बनेको बताइएको छ।आसिफ शेखलाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेसँगै रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाली विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय अध्ययन तथा करिअर यात्रामा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरेको छ।








