
काठमाडौँ — निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग विशेष रूपमा संवेदनशील रहेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै उनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गरे।
भण्डारीका अनुसार गत भदौ २३ र २४ गते भएका घटनापछि सूचना प्रविधिमार्फत निर्वाचन प्रक्रिया अझ व्यवस्थित र विश्वसनीय बनाउन आयोगले विशेष सतर्कता अपनाएको छ। निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन भएपछि यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली प्रणाली एकीकृत गरी सहज रूपमा नामावली संकलन गर्न सफल भएको उनले बताए।
सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति नियन्त्रणमा आयोगका सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहने भण्डारीले उल्लेख गरे। निर्वाचन आचारसंहिता पालना, प्रचारप्रसारको अनुगमन तथा मतदाता शिक्षा जनस्तरसम्म पुर्याउन प्रविधिको प्रयोग प्रभावकारी हुने बताउँदै दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोग प्रवर्द्धन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।
हाल आयोगले मतदाता नामावली दर्ता तथा व्यवस्थापन, इभेन्ट ट्रयाकिङ प्रणाली, उम्मेदवार खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचन परिणाम घोषणासम्म सूचना प्रविधिको प्रयोग गर्दै आएको छ। यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रि–इनरोलमेन्ट तथा राष्ट्रिय परिचयपत्र प्रणालीसँगको आबद्धताले मतदाता नामावली संकलन प्रक्रिया अझ सहज र पहुँचयोग्य बनेको आयोगले जनाएको छ।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिलाई विगतदेखि नै उच्च प्राथमिकतामा राखेर काम हुँदै आएको उल्लेख गरे। प्रविधिको तीव्र विकाससँगै यसको सकारात्मक प्रयोग बढाउँदै सम्भावित नकारात्मक असर न्यूनिकरण गर्नुपर्नेमा जोड दिँदै उनले साइबर सुरक्षासम्बन्धी सचेतना तथा ‘साइबर हाइजिन’का लागि यस्ता तालिम प्रभावकारी हुने बताए। तालिममा सातै प्रदेश निर्वाचन कार्यालय तथा ७७ जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे