
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा भित्रिने चीनियाँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यसहित चीनको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष साझेदारी गरेको छ। टेनपे चीनमा सञ्चालन हुने वीच्याट पे सेवा प्रणालीको प्रमुख सञ्चालक संस्था हो।
सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले वीच्याट पे प्रणालीमार्फत अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा प्रदान गर्नेछ। यस अन्तर्गत नेपाल भ्रमणमा आउने चीनियाँ पर्यटकहरूले चीनियाँ मुद्रा प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोही कारोबारको रकम सिधै नेपाली रुपैयाँमा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
बैंकका अनुसार यस सेवाले पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सुरक्षित र पारदर्शी डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ। चीनियाँ पर्यटकले नगद बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाउने र व्यवसायीहरूका लागि भुक्तानी प्रक्रिया छरितो तथा सुरक्षित हुने विश्वास छ।
यस साझेदारीले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका डिजिटल भुक्तानी विस्तारसम्बन्धी रणनीतिक पहलहरूलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। साथै, वित्तीय डिजिटल समावेशीकरण, नगदरहित अर्थतन्त्रको प्रवर्द्धन र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा बैंकको विश्वास रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे