
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान प्रदान गर्ने घोषणा गरेको छ। बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल अध्ययनरत शोधकर्ता तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
बैंकका अनुसार बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोधका लागि एमफिल तहका दुई जना शोधकर्ता विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले अनुसन्धान अनुदान उपलब्ध गराइनेछ। यस्तै, व्यवस्थापन, अर्थशास्त्र तथा कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तर अध्ययनरत चार जना शोधकर्ता विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र तथा सूचना प्रविधिसँग सम्बन्धित विषयमा शोध कार्य गर्न जनही पचास हजार रुपैयाँका दरले अनुदान प्रदान गरिनेछ।
अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी चैत १ गतेभित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ। सम्बन्धित विषयका विज्ञहरू समेत सम्मिलित छनोट समितिले प्राप्त प्रस्तावनाको मूल्याङ्कन गरी अनुदान प्राप्त गर्ने विद्यार्थी छनोट गर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार शोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, प्रमाणमा आधारित र मौलिक हुनुपर्नेछ। बैंकले प्रदान गर्ने अनुसन्धान अनुदानले उच्च शिक्षा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धानमा उल्लेखनीय सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले विश्वास व्यक्त गर्नुभएको छ।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत अनुसन्धान अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेपछि कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि सारेको हो। नेपाल राष्ट्र बैंकको यस व्यवस्था अनुसार अनुसन्धान अनुदान प्रदान गर्ने पहिलो वित्तीय संस्थाका रूपमा कामना सेवा विकास बैंक रहेको बैंकले जनाएको छ। अनुसन्धान अनुदानसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे