
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहजीकरण गर्ने उद्देश्यसहित आफ्ना डिजिटल कर्जा सेवाको दायरा विस्तार गरेको छ। बैंकले क्यूआर प्रणालीमा आबद्ध व्यापारीलाई लक्षित गर्दै ‘स्मार्ट कर्जा सेवा’ सुरु गरेको हो। यस सेवामार्फत डिजिटल माध्यम प्रयोग गरी व्यवसायीलाई छिटो, सरल र पारदर्शी वित्तीय पहुँच प्रदान गर्ने छ।
डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि प्रयोग गर्दै आइरहेको माछापुच्छ्रे बैंकले क्यूआर व्यापारीहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभिन्न नेटवर्कमार्फत क्यूआर प्रणालीमा आबद्ध रहेका व्यापारीहरूले अब बिना धितो सहज तरिकाले कर्जा लिन सक्नेछन्। बैंकका अनुसार यो सेवा विशेषगरी स्वरोजगार व्यवसायी तथा साना व्यापारीहरूका लागि उपयोगी हुने छ।
यस सेवामार्फत कर्जा आवेदन, स्वीकृति तथा वितरण सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट हुने व्यवस्था गरिएको छ। ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी कर्जा आवेदन दिन सक्नेछन्, जसले समयको बचत गर्नुका साथै सेवा प्रवाहलाई थप सहज बनाउने बैंकको भनाइ छ। डिजिटल प्रणालीमार्फत हुने स्वीकृति प्रक्रियाले पारदर्शिता कायम गर्न मद्दत पुग्ने र व्यवसायीलाई आवश्यक पूँजी समयमै उपलब्ध गराउने गरिएको छ।
स्थापनाकालदेखि नै प्रविधिमैत्री सेवा तथा नवीन वित्तीय समाधान ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता बोकेको माछापुच्छ्रे बैंकले देशभर सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ। हाल बैंकका देशभर १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ विस्तार काउन्टर सञ्चालनमा रहेका छन्। यसका साथै बैंकले विभिन्न भौगोलिक क्षेत्रमा पहुँच विस्तार गर्दै हिमाल, पहाड र तराई समेट्ने गरी सेवा प्रवाह गरिरहेको छ।
माछापुच्छ्रे बैंकले हाल १ सयभन्दा बढी स्वचालित नगद मेसिनमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनमा पनि डिजिटल वित्तीय सेवा विस्तार गर्दै उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समुन्नत आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे