
एजेन्सी। कतारको दोहामा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि चन्द्रप्रसाद ढकालले कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–कतारबीचको निजी क्षेत्र सहकार्यलाई संयुक्त परियोजना र परिणाममुखी साझेदारीतर्फ लैजानुपर्ने विषयमा विशेष जोड दिइएको थियो। ढकालले दुई देशबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरको विश्वास र सहकार्यमा आधारित रहेको कुरा स्पष्ट रूपमा राखेका छन्।
भेटमा ऊर्जा, पूर्वाधार, वित्त, पर्यटन, सेवा तथा लजिस्टिक्स जस्ता क्षेत्रहरूमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्ने महासंघको तयारी जानकारी गराइएको थियो। ढकालले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, स्वास्थ्य र शिक्षामा आकर्षक लगानी अवसरहरू उपलब्ध रहेको समेत बताएका छन्। यसै सन्दर्भमा कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न र नेपाली व्यवसायीलाई कतारमा सेवा, पर्यटन, सीप विकास तथा साना–मझौला उद्यममा अवसर खोज्न प्रोत्साहन गरिएको थियो।
कतार चेम्बरका अध्यक्षले नेपाल–कतार आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् भने संयुक्त वाणिज्य परिषद् छिट्टै अन्तिम रूप दिने विषयमा सकारात्मक धारणा प्रकट भएको छ। साथै महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा पनि दिइएको थियो, जसलाई अध्यक्षज्यूले स्वीकार गर्नुभएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले संवादलाई अब परिणाममुखी कार्यमा परिणत गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे