
नेपाल टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने घोषणा गरेको छ। यसअन्तर्गत नयाँ वाइफाई ६ प्याकेजले न्यूनतम १०० एमबीपीएस स्पिडको एफटीटीएच सेवा प्रदान गर्नेछ।
पहिले नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई वितरण गर्दै आएको थियो। तर अब वाइफाई ६ सीपीईसँगै पहिलो पटक एपी समेत उपलब्ध गराइने भएको छ। नयाँ प्रविधिका यी उपकरणले घरभित्र विभिन्न स्थानमा कमजोर हुने वाइफाई सिग्नलको समस्या समाधान गर्दै, इन्टरनेटको स्पिड तीव्र बनाउन सहयोग पुर्याउनेछ। यसले धेरै उपकरण एकै समयमा जोड्न, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
ग्राहकका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछन्। इन्डिभिजुअल प्याकेजमा ग्राहकले इन्टरनेट र टेलिफोन, इन्टरनेट र बेसिक एनटीटीभी र टेलिफोन, वा इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोनमध्ये कुनै एक छनोट गर्न सक्नेछन्। प्रिमियम प्याकेजमा प्रिमियम इन्टरनेट, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी, वा प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी छनोट गर्न सकिने सुविधा हुनेछ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमतासहित आउनेछन् र मोबाइल डाटासँग पनि उपलब्ध हुनेछन्।
नेपाल टेलिकमले उपलब्ध गराउने नयाँ वाइफाई ६ सीपीई, एपी र एफटीटीएच प्याकेजको दररेट तथा विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइट तथा ‘नेपाल टेलिकम’ एप मार्फत प्राप्त गर्न सकिन्छ। ग्राहकहरू १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे