
काठमाण्डौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइले आकस्मिक स्वास्थ्य सेवामा परिचालित एम्बुलेन्स सेवाको प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री सञ्चालनका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरेको छ। यस निर्देशिका अनुसार सम्पूर्ण एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आवद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
हाल, निर्देशिका विपरीत केही एम्बुलेन्सहरूले बिरामी वा घाइतेलाई स्वास्थ्य संस्थाको प्रेषण वा प्रेषण केन्द्रको निर्देशन बिना निजी तथा महँगा अस्पतालमा लैजाने गरी आर्थिक प्रलोभन लिने घटनाहरू देखा परेको गुनासो मन्त्रालयमा प्राप्त भएको छ। मन्त्रालयका अनुसार, अप्ठ्यारो अवस्थामा रहेका बिरामी वा घाइतेबाट आर्थिक लाभ उठाउनु अत्यन्तै दु:खद र अस्वीकार्य कार्य हो।
यस सन्दर्भमा सम्पूर्ण एम्बुलेन्स चालकहरूलाई अनुरोध गरिएको छ कि उनीहरूले प्रेषण केन्द्र वा बिरामीको चाहना अनुसार स्वास्थ्य संस्थामा अनिवार्य रूपमा लैजानु पर्दछ। निर्देशिका, २०८२ का प्रावधान विपरित कार्य गरेको फेला परेमा कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे