
काठमाडौं — अमेरिकी राजदूत थोम्पसन तथा पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना गरेका छन्। उक्त कार्यक्रममा आगामी वर्षका प्राथमिकता, सहकार्यका क्षेत्र तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि तथा गण्डकी र बागमती प्रदेशका प्रदेशस्तरीय सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा, कृषि, वातावरण तथा दिगो विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आगामी महिनामा कृषि, शिक्षा, वातावरण तथा पर्यावरणीय पर्यटन क्षेत्रमा सेवा दिन नयाँ समूहका पिस कोर स्वयंसेवकहरू नेपाल आउन लागेकाले, उनीहरूको आगमन र पूर्व–सेवा तालिमलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताइएको छ।
नेपालमा पिस कोरको सक्रियता सन् १९६२ देखि निरन्तर रहँदै आएको उल्लेख गर्दै आयोजकले प्राविधिक परामर्श, सहयोग, भिसा प्रक्रिया, तथा परियोजना सल्लाहकार समितिमा सहभागिताजस्ता भूमिका आज पनि अत्यन्त महत्वपूर्ण रहेको जनाएका छन्।
कार्यक्रमले सरकार, शैक्षिक संस्था, प्रदेश सरकार र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै आगामी वर्षका साझा लक्ष्यहरूमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे