
काठमाडौं । नेपालको बैंकिङ क्षेत्र बढ्दो निष्क्रिय कर्जा, संरचनात्मक दबाब र कर्जा असुलीको जटिलतासँग जुधिरहेको सन्दर्भमा बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले ‘क्रेडिट जोखिम तथा असुली व्यवस्थापन’ विषयक संगोष्ठी आयोजना गरेको छ। वर्तमान आर्थिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने यस संगोष्ठीलाई समयसापेक्ष, तथ्यमा आधारित र व्यवहारिक मानिएको छ।
संगोष्ठीमा कर्जा बक्यौता, असुलीका चुनौती, नियामकीय यथार्थ तथा क्रेडिट गभर्नेन्सका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रस्तुत विषयवस्तुहरू नेपालको बैंकिङ प्रणालीको वास्तविक अवस्थासँग जोडिएका थिए, जसले सैद्धान्तिक बहसभन्दा अघि बढेर व्यावहारिक समाधानतर्फ ध्यान केन्द्रित गराएको आयोजकको भनाइ छ।
कार्यक्रममा प्रस्तुत गरिएका अनुसन्धानपत्र तथा प्यानल छलफलले संगोष्ठीलाई अझ समृद्ध बनाएको थियो। प्यानलिस्टहरू देवकुमार ढकाल, रत्नराज बज्राचार्य, ज्ञानेन्द्र ढुंगाना, परशुराम कुमार क्षेत्री र बोधराज देवकोटाले आफ्ना अनुभव र व्यावहारिक दृष्टिकोण साझा गर्दै क्रेडिट जोखिम व्यवस्थापनका जटिल आयामहरू स्पष्ट पारेका थिए।
संगोष्ठीमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता संवाद र छलफलले कर्जा अनुशासन मजबुत बनाउन तथा वित्तीय संस्थालाई दीगो र सबल बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
आयोजक संस्थाले क्रेडिट जोखिम र असुली व्यवस्थापनजस्ता संवेदनशील विषयमा निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे