
काठमाडौँ – नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले वित्तीय सेवा प्रवाह, वित्तीय स्थायित्व र सर्वसाधारणको विश्वासमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको छ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासका कारण हाल देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको उल्लेख गर्दै विज्ञप्तिमा स्थानीयस्तरमै सर्वसाधारणले निक्षेप राख्ने, कर्जा लिने, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ता लगायतका वित्तीय सेवा सहज रूपमा प्राप्त गरिरहेको जनाइएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा केन्द्रीय बैंकका निर्देशनअन्तर्गत कर्जा प्रवाह गर्नु, प्रवाहित कर्जासँग सम्बन्धित परियोजनाको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित संस्थाको प्रमुख दायित्व हो। सर्वसाधारणबाट संकलित निक्षेपमार्फत कर्जा प्रवाह हुने भएकाले कर्जा असुली नहुँदा निक्षेप फिर्ता गर्न नसक्ने अवस्था आउन सक्ने र यसले तरलतामा समेत असर पार्ने विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, ऋणीले प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा कठिनाइ भोग्नुपरेको अवस्थामा नेपाल राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणजस्ता सहजीकरणका व्यवस्था गर्दै आएको जानकारी दिइएको छ। साथै, बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भए सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था उपलब्ध रहेको उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध हुने गैरव्यावसायिक, गैरजिम्मेवार तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ उत्पन्न हुने र समग्र वित्तीय सेवा प्रवाह प्रभावित हुने भन्दै यस्ता क्रियाकलापमा संलग्न नहुन सबै सरोकारवालालाई आग्रह गरेको छ।
विज्ञप्तिमा प्रचलित कानुनविपरीत बैंक तथा वित्तीय संस्था र कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा अराजक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ। साथै, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी सुरक्षित वातावरणमा सेवा प्रवाह गर्न सहयोग गर्न नेपाल राष्ट्र बैंकले सबै पक्षसँग अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे