
पोखरा। भौतिक पूर्वाधार विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लडलाइट जडान गरिने प्रतिबद्धता जनाएका छन्। आइतबार बिहान पोखरा रङ्गशालाको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न देखिएका प्राविधिक कमजोरी समाधानका लागि सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय खेल सञ्चालनमा फ्लडलाइटको अभाव प्रमुख चुनौती बनेको उल्लेख गर्दै यसका लागि सहरी विकास मन्त्रालयमार्फत समन्वय गरी अर्थ मन्त्रालयसँग बजेट माग गरिने स्पष्ट पारे। “अन्तर्राष्ट्रिय खेल खेलाउन समस्या देखिएको छ। त्यसका लागि सरकारले बजेट सुनिश्चित गरेर काम अघि बढाउँछ,” मन्त्री घिसिङले भने।
फ्लडलाइट जडानका लागि यसअघि नै सम्बन्धित निकायबाट माग पेश भइसकेको र प्रारम्भिक अनुमानअनुसार १५ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको थियो। यद्यपि हाल विराटनगर रङ्गशालामा अपनाइएको मोडालिटीअनुसार फ्लडलाइट जडान गर्दा अझ उपयुक्त हुने विज्ञहरूको सुझाव आएको छ। जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव डी.बी. नेपालीका अनुसार फ्लडलाइट जडानमा करिब १४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
पोखरा रङ्गशालामा आगामी माघ १५ गतेदेखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै फ्लडलाइट र स्कोरबोर्ड जडान आवश्यक रहेको सुझाव दिइएको छ। यसअघि साफका महासचिव पुरुषोत्तम कट्टेल तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिमण्डलले रङ्गशालाको अवलोकन गरिसकेको छ।
हाल १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट रहेको पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रिय खेलमैत्री बनाउने उद्देश्यले पूर्वाधार विस्तारलाई तीव्रता दिने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे