
काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। नयाँ प्रतिबद्धतासँगै परियोजनाको समग्र बजेट ७४ करोड ७० लाख डलर (झन्डै १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।
एमसीसी कम्प्याक्टको कुल रकममध्ये अमेरिकाबाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर जुटाइनेछ। अमेरिकी सरकारले उपलब्ध गराएको अतिरिक्त अनुदानले विशेषगरी विद्युत् प्रसारण लाइन विस्तार, ऊर्जा पूर्वाधार निर्माण, र ग्रिड प्रणालीको प्रवर्द्धनलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ।
सरकारका अधिकारीहरूका अनुसार, अतिरिक्त रकमले मुलुकको ऊर्जा प्रणालीलाई विश्वसनीय, आधुनिक, र क्षेत्रीय ऊर्जा व्यापारका लागि सक्षम बनाउने लक्ष्य लिएका परियोजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुर्याउनेछ। एमसीसी कम्प्याक्टले निर्माण गरिरहेका प्रसारण लाइन र सबस्टेशनले नेपाललाई भारत तथा अन्य दक्षिण एसियाली मुलुकहरूसँग ऊर्जा व्यापार विस्तार गर्ने आधार तयार गर्ने बताइएको छ।
उक्त सम्झौता सार्वजनिक गर्दै अमेरिकी दूतावासले एमसीसी सहयोगले अमेरिका–नेपाल साझेदारीलाई दीर्घकालीन रूपमा बलियो बनाउने उल्लेख गरेको छ। दूतावासका अनुसार, यो परियोजना सम्पन्न भएपछि नेपालमा अमेरिकी प्रविधि, कम्पनी, र सीप प्रवेश गर्ने अवसर बढ्नेछ, जसले ऊर्जा क्षेत्रको दक्षता र आधुनिकिकरणमा योगदान पु¥याउनेछ।
यता, नेपाल सरकारले प्राप्त अतिरिक्त सहयोगले परियोजनाको लागत व्यवस्थापन, समयमै निर्माण, र दक्ष ऊर्जा प्रसारण प्रणाली निर्माणमा ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरेको छ। ऊर्जा पूर्वाधारलाई प्राथमिकतामा राख्दै एमसीसी कम्प्याक्टका कामहरू तीव्र गतिमा अघि बढाइने सरकारको तयारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे