
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आचार्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सञ्चालक समितिको अध्यक्ष निर्वाचित भएपछि नेपाल राष्ट्र बैंकमा सपथ लिनुपर्ने कानुनी प्रावधान रहेको छ।
गत शुक्रबार सम्पन्न कामना सेवाको १९औं वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो। संस्थापक समूहबाट आचार्यसहित भीम प्रसाद तुलाचन र चतुराखर अधिकारी निर्विरोध निर्वाचित भए भने सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्वाचित भएका थिए।
सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, कामना सेवा विकास बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो।
कामना सेवा विकास बैंकले विगत १९ वर्षयता नेपालका विभिन्न क्षेत्रमा वित्तीय सेवा विस्तार गर्दै आएको छ। हाल बैंकले देशभर शाखा, एक्सटेन्सन काउण्टर तथा एटिएममार्फत सेवाहरू प्रदान गरिरहेको छ। नयाँ नेतृत्वसँगै बैंकले सेवाको गुणस्तर थप प्रभावकारी बनाउन र डिजिटल वित्तीय सेवामा विस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे