
काठमाडौँ । देशभर जारी अशान्त परिस्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएको अभियोगमा नेपाली सेनाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात, र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको हो।
यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड तथा लुटपाट प्रयासमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको जनाएको छ। नेपाली सेनाले हालको अस्थिर अवस्थाको दुरुपयोग गर्दै आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि निगरानी बढाएको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
सुरक्षाकर्मीहरूले राजधानीका संवेदनशील स्थानहरूमा सुरक्षा कडाइ गरेका छन् भने सार्वजनिक र निजी सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे