
काठमाडौं, भदौ २४।देशव्यापी रूपमा चर्किएको जेनरेशन जेड (Gen Z) को विरोध प्रदर्शन मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेको छ। बिहानैदेखि प्रदर्शनकारीहरूको ठूलो समूह विमानस्थलको गेट अगाडि भेला भएको थियो। उनीहरू विमानस्थलभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
आशंका गरिएको सुरक्षा जोखिमका कारण बिहानैदेखि त्रिभुवन विमानस्थल बन्द गरिएको छ। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू स्थगित छन्। विमानस्थल परिसरमा सम्भावित तोडफोड र अराजकता रोक्न नेपाली सेनाको ठूलो टोली परिचालन गरिएको छ।
प्रदर्शनकारीहरू पूराना नेताहरू देशबाट भाग्न लागेका छन् भन्ने आशंकामा नाराबाजी गर्दै विमानस्थल घेराउमा उत्रिएका छन्।
“हामी परिवर्तन चाहन्छौं, नेताहरूको पलायन होइन!” भन्दै उनीहरूले प्लेकार्डसहित प्रदर्शन चर्काएका छन्।
गत सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएको पुष्टि भएको छ। यसले थप आक्रोशित बनाएका युवा आन्दोलनकारीहरू आज पनि सडकमा उत्रेका छन्।
सरकारले मुलुकभर निषेधाज्ञा (कर्फ्यू) लागू गरे पनि प्रदर्शनकारीहरूले त्यसको अवज्ञा गर्दै सिंहदरबार, मन्त्रालयहरू, प्रमुख सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन्। सिंहदरबारको मूल गेट तोडिएको घटनाले स्थिति गम्भीर बनेको देखिन्छ।
राजधानीका धेरै भागहरू अहिले पनि प्रदर्शनको चपेटामा छन्। सुरक्षा निकायहरूले केही स्थानमा बल प्रयोग गरे पनि अवस्था पूर्ण नियन्त्रणमा आएको छैन।
राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्नुपर्ने माग बढ्दो छ, तर हालसम्म सरकार वा प्रमुख दलहरूको तर्फबाट स्पष्ट रणनीति आउन सकेको छैन। देशमा शान्ति र स्थायित्व फर्काउन संवाद, संयमता, र सहमतिका विकल्पहरू खोजिनुपर्ने विश्लेषकहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे