
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको विवरण व्यवस्थित रूपमा संकलन गर्न ‘श्रम संसार’ नामक मोबाइल एप आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा विकास गरिएको यो एपबाट संसारभर छरिएका नेपाली डायस्पोराको विस्तृत विवरण संकलन गर्ने लक्ष्य राखिएको छ।
यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो नाम, स्थान, पेशा, वैदेशिक रोजगारको अवस्था लगायतको व्यक्तिगत विवरण सहज रूपमा दर्ता गर्न सक्नेछन्। एपमा जानकारी दर्ता गरेपछि कुन देशमा कति संख्यामा नेपाली छन्, उनीहरूको अवस्था के छ भन्ने विवरण समेट्न सकिनेछ।
यसले आपत्कालीन अवस्थामा उद्धार, कन्सुलर सेवा तथा अन्य आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई सहयोग पुर्याउनेछ। साथै, नेपाली श्रमिक समस्यामा परेमा तत्कालै उद्धार कार्यलाई प्रभावकारी बनाउन समेत यो एप सहयोगी हुने विश्वास व्यक्त गरिएको छ।
श्रम संसार एपमार्फत संकलित जानकारीलाई सम्बन्धित देशका नेपाली दूतावासहरूले नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। प्रयोगकर्ताले गुनासो वा उजुरी दर्ता गर्न shramsansar.gov.np/contact-us/create-grievance मा समेत पहुँच प्राप्त गर्नेछन्।
सरकारले यो एपलाई डिजिटल प्रविधिको प्रयोगमार्फत प्रवासमा रहेका नेपालीहरूको सेवा र सुरक्षा सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे