
काठमाडौंँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारी थालिसकेको छ। मन्त्रालय स्रोतका अनुसार यस सम्बन्धमा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच भएको छलफलमा अनौपचारिक सहमति बनेको हो।
छलफलमा मन्त्रीद्वयका साथै सञ्चार सचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र केन्द्रका अन्य कर्मचारीहरू सहभागी थिए।
सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी लाइसेन्स छपाइको योजना अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै आवश्यक प्राविधिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले केन्द्रलाई शीघ्र सञ्चालनमा ल्याउने लक्ष्यसहित छपाइ प्रक्रिया सुरु गरिने बताएका छन्।
उनका अनुसार स्वदेशमा सरकारी कागजातहरू छाप्न थाल्दा मुलुकको स्वाभिमान, राजस्व तथा रोजगारीका अवसरमा वृद्धि हुने विश्वास गरिएको छ। राहदानी, हुलाक टिकट, राष्ट्रिय परिचयपत्र लगायतका कागजातहरू पनि स्वदेशमै छप्ने व्यवस्था गर्न मन्त्रालय सक्रिय रहेको उनले बताए।
यातायातमन्त्री दाहालले जनतामा विश्वास दिलाउने खालका काम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यथाशीघ्र लिखित सम्झौतामा पुग्ने जानकारी दिए।
सञ्चार सचिवसमेत रहेकी केन्द्रकी अध्यक्ष राधिका अर्यालका अनुसार मन्त्रालयले सवारी अनुमतिपत्र छपाइ केन्द्रमार्फत सम्भव हुने निष्कर्ष निकालेको छ। कार्यकारी निर्देशक ढुङ्गानाले छलफलमा उठेका बुँदाहरू सञ्चालक समितिमा प्रस्ताव पेस गरी छपाइको मिति तोकिने बताएका छन्।
छलफलमा सुरक्षण मुद्रण केन्द्रले हालको अवस्था अनुसार करिब ३० लाख लाइसेन्स छपाउन सक्ने क्षमताको आकलन गरिएको थियो।
दुई वर्षअघि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि केन्द्र निष्क्रिय अवस्थामा पुगेको थियो। त्यसयता कार्यकारी निर्देशकविहीन अवस्थामा रहेको केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन ढुङ्गानालाई जिम्मेवारी दिइएको हो।
मन्त्री गुरुङका अनुसार एक–दुई दिनभित्र नै लिखित सहमति गरेर औपचारिक प्रक्रिया अघि बढाइनेछ र यही वर्षभित्र छपाइ कार्य सुरु गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे