
काठमाडौं। ९९ किलोवाट क्षमताको आधिकारिक कागजात र खुद्रा मूल्य (एमआरपी) सार्वजनिक नगरेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही विद्युतीय सवारी बिक्रेता कम्पनीहरूमाथि छापा मारेको छ।
विभागले चैत २० गते तीन वटा गाडी बिक्रेता कम्पनी र एक स्कुटर बिक्रेता कम्पनीलाई पत्राचार गरी बिक्री वितरण रोक्का गरेको जनाएको छ। विभागका अनुसार एमएडब्ल्यू वृद्धि मोटर्स (काठमाडौं–११), पारामाउन्ट मोटर्स (काठमाडौं–१), इभ नेपाल मोटर्स (ललितपुर–१५) र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालि (काठमाडौं–११) लाई आवश्यक कागजात प्रस्तुत गर्न निर्देशन दिइएको छ।
विभागका महानिर्देशक कुमार दाहालले उपभोक्तालाई बेच्ने खुद्रा मूल्य सूची (एमआरपी) स्पष्ट रूपमा राख्न बारम्बार निर्देशन दिँदा पनि बेवास्ता गरेकाले कारबाही गरिएको बताए। कानुनी व्यवस्थाअनुसार उपभोक्ताले देख्न सक्ने गरी एमआरपी उल्लेख गर्नुपर्ने भए पनि बिक्रेता कम्पनीहरूले पालना नगरेको विभागले जनाएको छ।
बिहीबार विभिन्न स्थानमा अनुगमन जारी रहेको र एमआरपी उल्लंघन गर्ने कम्पनीहरूको गाडी बिक्री वितरण तत्काल रोक्ने तयारी भइरहेको समेत विभागले जानकारी गराएको छ।
उक्त कारबाहीपछि एमएडब्ल्यू वृद्धिले दिपल, सेरेस तथा अन्य ब्रान्डका गाडीहरू बिक्री गर्दै आएको, पारामाउन्टले एमजी र वुलिङ गाडी विक्री गर्दै आएको तथा इभ नेपालले लेभनिङ ब्रान्डको स्कुटर वितरण गरिरहेको जानकारी प्राप्त भएको छ।
यसैबीच, बिवाइडी गाडी बिक्रेता साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले विभागले माग गरेका आवश्यक कागजात बुझाइसकेको र एमआरपी उल्लेख गरेर नै बिक्री वितरण भइरहेको दाबी गरेका छन्। विभागबाट पत्राचार प्राप्त भएपछि कम्पनीले तत्काल आवश्यक विवरण उपलब्ध गराइसकेको उनले जानकारी दिएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे