
काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना र समयमै रोकथामका लागि तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त शिविर मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहले आयोजना गरेको हो।
शिविरमा ११० महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो भने विद्यालयमा अध्ययनरत १५० छात्रालाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व तथा यसको रोकथामसम्बन्धी सचेतना प्रदान गरिएको थियो।
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट गरिएको स्क्रिनिङमा चार महिलाको नतिजा पोजिटिभ देखिएको बताइएको छ। ती महिलालाई आवश्यक परामर्शसहित भक्तपुर र भरतपुरका क्यान्सर अस्पतालहरूमा रेफर गरिएको थियो।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कस्तुरी मल्ल र डा. विमला लाखे तथा नर्स विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गरेका थिए। यस शिविरले समुदायमा आधारित स्वास्थ्य सेवाका प्रयासलाई प्रवर्द्धन गर्नुका साथै पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्याहरूको रोकथाममा साझेदारीको महत्वलाई उजागर गरेको आयोजकले जनाएका छन्।
मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई) का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले प्रजनन स्वास्थ्य शिविरले संस्थाले प्रदान गर्ने सेवाहरूको पहुँच र प्रभावकारिताबारे समुदायमा जानकारी बढाउन मद्दत गरेको बताए।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्ने जनाएको छ। १५ दिनसम्म सञ्चालन हुने यो अभियान अन्तर्गत कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन पापिलोमा भाइरस संक्रमण भएकाले यसको विरुद्ध खोप लगाउन आवश्यक रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे