
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सम्झौतामा आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले सहमतिपत्र आदानप्रदान गरेका हुन्।
समझदारीअनुसार दुवै विश्वविद्यालयले भाषा शिक्षण, संस्कृति आदानप्रदान, र अनुसन्धानमा सहकार्य गर्नेछन्। साथै, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना गरिनेछ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको जनस्तरको सम्बन्धलाई स्मरण गर्दै प्राज्ञिक तथा शैक्षिक सहकार्य विस्तार भएकामा खुशी व्यक्त गरेका थिए। उनका अनुसार, गत मङ्सिरमा भएको औपचारिक भ्रमणका क्रममा चिनियाँ भाषा शिक्षणसम्बन्धी समझदारी भएको विषयलाई अघि बढाउँदै यो सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
समारोहमा राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायतको उपस्थिति थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे