
एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनाग्रस्त भएको छ। दक्षिण कोरियाको राष्ट्रिय अग्नि सुरक्षा एजेन्सीले जारी गरेको विज्ञप्तिका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ।
अग्नि नियन्त्रण विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुईजनालाई जीवित उद्धार गरिएको छ।
जीजू एयरको उक्त विमानमा १८१ जना यात्रु सवार रहेको बताइएको छ। विमान बैंककबाट दक्षिण कोरिया आइरहेको र अवतरणका क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
विमान कम्पनी जीजू एयरले घटनाप्रति क्षमायाचना गर्दै विज्ञप्ति जारी गरेको छ। कम्पनीले भनेको छ, “मुआन विमानस्थलमा भएको दुर्घटनाका पीडितहरूसँग हामी माफी माग्छौं। घटनाको छानबिनका लागि र पीडितहरूलाई आवश्यक सहयोग गर्न हामी प्रतिबद्ध छौं।”
दुर्घटनाका भिडियो फुटेजहरूमा जहाजलाई चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको देखिएको छ। अवतरणको क्रममा जहाजको चक्का बाहिर ननिस्किएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। तीव्र गतिमा चिप्लिएको जहाज धावनमार्गको छेउमा रहेको पर्खालमा ठोक्किनासाथ आगलागी भएको भिडियोमा स्पष्ट देख्न सकिन्छ।
अग्नि नियन्त्रण विभागले प्रारम्भिक अनुमानमा चरा ठोक्किनु र खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ। तर, घटनाको यकिन कारण पत्ता लगाउन विस्तृत छानबिन जारी रहेको मुआन अग्नि नियन्त्रण विभागका प्रमुख ली जिओङ-ह्युनले एक टेलिभिजन ब्रीफिङमा बताएका छन्।
दुर्घटनामा विमानको पछाडिको भाग सुरक्षित देखिए पनि बाँकी भागको अवस्था चिनिनसक्नु भएको अधिकारीहरूले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे