
काठमाडौँ , पुस १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।
उनले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’ उनले रावल एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको बताए । संसदिभत्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट रावलले एमाले छाडिसकेको पोखरेलले दावी गरे ।
उनले भने, ‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफ चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ? ’ उनले भने, हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं। महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,। तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलको भनाइ थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे