
काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजायको फैसला गरेको हो।
अदालतले तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद र रु १ अर्ब ४७ करोड १० लाखको बिगो असुलीको साथै रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लगाएको छ। कङ्साकारले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउनेछन्।
निगमका तत्कालीन सञ्चालक समितिका अध्यक्ष र पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद र रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लगाइएको छ। सोही रकमको बिगो असुली पनि हुने निर्णय सुनाइएको छ।
पूर्वसचिव र निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय र रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लाग्ने निर्णय गरिएको छ। त्यस्तै, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि समान कैद सजाय र जरिवानासमेत लागू भएको छ।
अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई दोषी ठहर गर्दै एक वर्ष छ महिना कैद र रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लगाएको छ।
त्यसैगरी, अदालतले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ। यस प्रकरणमा दुई विदेशी नागरिकसहित २७ प्रतिवादीलाई अभियोगबाट सफाइ दिइएको छ। यस मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे