
काठमाडौं, मङ्सिर १३ । नेपाली हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व बालाचतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष तयारी पुरा भएको छ। शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्न सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दिवंगत पितृका नाममा राति बत्ती बालेर चतुर्दशीका दिन बिहान सत्बीज छर्ने प्रचलन छ । सत्बीज छर्ने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने जनाइएको छ ।
मन्दिर प्रशासनले मन्दिरमा लाग्ने भीडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थासँगै विभिन्न आवश्यक तयारीहरू पुरा गरेको जनाएको छ।पशुपतिनाथ मन्दिर क्षेत्रमा बालाचतुर्दशीका दिन भक्तजनहरूको ठूलो उपस्थितिको अपेक्षा गरिएको छ। दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले २१ सय रुपैयाँका दरले शुल्क लिने बताइएको छ ।
मन्दिरका प्रमुख पुजारीले बालाचतुर्दशीको दिन विशेष पूजा र आरतीहरूको आयोजना गर्नेछन्। यस पर्वमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गर्न आउने भक्तजनहरूको लागि मन्दिर प्रशासनले आवश्यक मार्गदर्शन र सुरक्षा प्रबन्ध गरेको छ।पशुपतिनाथ मन्दिरको परिसरमा अत्यधिक भीडको व्यवस्थापनका लागि ट्राफिक प्रहरीले वैकल्पिक मार्गहरू निर्धारण गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे