
बुटवल, १२ कात्तिक । सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याउने तयारी भइरहेको छ । कास्की प्रहरीले उनलाई पोखरा विमानस्थलसम्म पुर्याएपनि प्रतिकुल मौसमका कारण उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।
प्रारम्भिक रूपमा बुध्द एयरको बिहान ७:३० बजेको उडानबाट लामिछानेलाई भैरहवा ल्याउने कार्यक्रम थियो, तर मौसममा कुहिरो लागेकाले उडान रोकिएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताएका छन् । यसअघि, लामिछानेलाई बिहान ६ बजे विमानस्थल पुर्याइएको थियो, तर मौसमका कारण उडान स्थगित गरिएको हो ।
रास्वपा पार्टीले लामिछानेलाई भैरहवा ल्याउनेसँगै बुटवलमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीले मंगलबार (आज) बिहान ११ बजे लुम्बिनी गेटमा भेला भएर नारायणपथ र देवकोटाचोक हुँदै जिल्ला प्रहरी कार्यालय नजिक सभा गर्ने तयारी गरेको रास्वपा रुपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिएका छन् ।
लामिछानेसँगै अन्य व्यक्तिहरूलाई पनि बुटवल स्थित सुप्रिम सहकारी संस्थाको बचत रकम र ऋण हिनामिनाको आरोपमा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा, उक्त सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ । त्यसमा लामिछानेको नामसमेत जोडिएको छ।
रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो र २५ दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
प्रहरीले लामिछानेलाई भैरहवाको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजान तयारी गरिरहँदा, सहकारी पीडितहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ र विमानस्थलदेखि सरकारी वकिल कार्यालयसम्म कडा निगरानी राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे