
काठमाडौं। २०७२ सालको विनाशकारी भूकम्पमा भिमसेन स्तम्भ ध्वस्त भएपछि निर्माण गरिएको धरहरा संविधान दिवसको अवसरमा बिहीबार सर्वसाधारणका लागि खुला गरिएको छ। सहरी विकास मन्त्रालयले जानकारी दिएको अनुसार, धरहराको ९८ प्रतिशत संरचना निर्माण पूरा भइसकेको छ, तर यो पूर्णरूपमा निर्माण भएको छैन।
बुधबार विशेष व्यक्तिहरूका लागि धरहराको परीक्षण गरिनुका साथै, आजको उद्घाटनले धेरैलाई उत्साहित बनाएको छ। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सुरु भएको थियो। २०७८ सालको वैशाख ११ मा ओलीले यसलाई औपचारिक रूपमा उद्घाटन गरेका थिए, तर धरहरा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। उद्घाटनको समयमा धरहराको मूल संरचना केवल ४२ प्रतिशत मात्र पूरा भएको जानकारी प्राप्त भएको छ।
सरकारले आगामी व्यवस्था नभएसम्म धरहरा चढ्न निःशुल्क सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। रंगरोगन र शृंगारका केही कामहरू अझै बाँकी रहेका भए पनि यसले प्रमुख समस्या उत्पन्न नगर्ने आश्वासन दिइएको छ।
यो नयाँ धरहरा ऐतिहासिक र सांस्कृतिक धरोहरको प्रतीकका रूपमा विकसित हुँदै जाने अपेक्षा गरिएको छ, जसले काठमाडौंका नागरिक र पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे