
काठमाडौं- २०८१ असोज १ – वर्षा र समृद्धिका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानहरूमा विशेष धूमधामसँग आयोजना हुँदै आएको छ।
पर्वको शुरुवात भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइन्छ। यसपछि इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा, र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने परम्परा रहेको छ। ‘इन्द्रध्वजोत्थान’ भनिने लिंगोको फेदमा भैरवको पूजा गरिएको छ।
यो पर्व सत्रु पराजयपछि विजयको उत्सवको रूपमा मनाइन्छ। इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वको रुपमा पनि इन्द्रजात्रा लिइन्छ।
तान्त्रिक विधिले पूजागरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिंगोलाई उपत्यका भित्र्याइन्छ। एकरात भोटाहिटीमा राखेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पारिन्छ।
आजको दिन इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकमा जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा दर्शाउने परम्परा छ। राजतन्त्रको समयमा पनि राजाबाट रथयात्रा निहालिने परम्परा रहेको थियो।
इन्द्रध्वजाको लिंगो ठड्याएपछि जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार, र देवराज इन्द्रको वाहन ऐरावतको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
यस उपलक्ष्यमा, आज उपत्यकाको पश्चिममा रहेको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसेर भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लागेको छ। यस पर्वको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक विदा दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे