
काठमाडौं, ५ भदौ — प्रधानमन्त्री केपी शर्मा ओलीले साना पुँजीबाट उत्पादन वृद्धि गर्नका लागि नयाँ उद्योगहरुको स्थापना र विस्तारमा जोड दिनुभएको छ। आज ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा र महिलाले नवीन र सिर्जनशील सोचका साथ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न युवा उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता उद्यमलाई सम्पत्ति राखेर होइन, परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने बताउनुभयो।
सहकारी क्षेत्रलाई केही ठग तत्वहरुले बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो। उहाँले, “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखाउने गरी उद्यमशीलता वृद्धि गर्नुपर्नेछ। सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न। यो अभियानका रूपमा अघि बढाउनुपर्छ। निजी क्षेत्रलाई सहजीकरणमा कमी गर्दैनौं,” भन्नुभयो।
प्रधानमन्त्री ओलीले, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं। यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन। केही गर्नका लागि जिम्मेवारीमा आएको हो,” भन्दै आफ्नो जिम्मेवारी प्रति प्रतिबद्धता प्रकट गर्नुभयो।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अन्य महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे