
काठमाडौं , जेठ ६। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ १५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेलप्रति धन्यवाद प्रस्तावसमेत पारित गर्न सकेका छैनन् । राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गनेछन् ।
यसैगरि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
जेठ २८ गते बजेट अधिवेशन प्रारम्भ भएदेखि नै कांग्रेसले निरन्तर दुवै सदनका बैठक अवरुद्ध पार्दै आएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।
यसअघि शुक्रबार बोलाइएका दुवै सदनका बैठक अवरुद्ध भएका थिए ।
संसद् खुलाउने विषयमा शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख चार दलबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे