
काठमाडौँ, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू गर्ने आजको राष्ट्रपतिको सम्बोधनमा अवरोध नपुर्याउन आग्रह गरेका छन्।
आज बिहान कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन्। कांग्रेसले गृहमन्त्री मुछिएको सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन नभसम्म संसद अवरोध कायमै राखेको छ । छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए।
प्रधानमन्त्री दाहालले भने , ‘सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्नका लागि म पूरै कोसिस, काम गरिराखेको छु। म समस्या समाधानतर्फ नै उन्मुख छु। समाधान गर्छु, आज नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक हुने भएकाले त्यो सम्बोधनलाई तपाईंहरूले अवरोध नगरिदिनूस् ।’
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१(८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गदैँ छन । राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे