
काठमाडौँ , १६ वैशाख | अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन्। आइतबार तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका छन् ।
उनले ढुक्क भएर नेपालमा लगानी गर्न समेत आग्रह गरे । उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए। उनले लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरे ।
उनले भने , ‘नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको छ।
’ मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’ यो लगानी सम्मेलनले नेपालमा लगानीको सम्भावना र दिगो आर्थिक बिकासमा टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे