
काठमाडौँ, २४ चैत । सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय लगाइएको कर्फयु आज शनिबार पनि जारी रहेको छ । स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो । सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो । कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको हो ।एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको भएपछि प्रहरीले ५१ राउण्ड हवाई फायर गर्नुपरेको थियो ।
भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए । यसैबिच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ ।
अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो । त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे