
काठमाडौँ, १३ पौष । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ हुन लागेको हो । यसअघि बिहीवार लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए।
लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस सारेका थिए। न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्। लामिछानेको मुद्दामा आज फैसला हुन सक्ने सम्भावना छ । मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे