
काठमाडौँ, मङ्सिर ५ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेमा रिट आज सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेका हुन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो ।
टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णयको विरोधमा दश वटा रिट निवेदन शुक्रवार दायर भएका थिए । सरकारले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो।
टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबी रिटमा गरिएको छ।
सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे