
काठमाडौँ, २० चैत।सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध सोमवार दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै निर्णय बदर गर्न माग गरिएको छ । रिटमाथि आज मंगलवार सुनुवाइ हुने तय भएको छ ।
यसअघि नै लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै अदालतले नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।
महान्यायाधिवक्ता डा. पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे